बुटवल— बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार सात सय १० बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।
पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन, २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन, २०५५, फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताए ।
सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिकरूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने उल्लेख छ ।