काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् ।
नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई शनिबार सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए ।
आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै उनले यसबाट सकारात्मक परिणाम निकाल्न उनीहरुप्रति उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहेको बताए ।
उनले युवा उद्यमशीलतालाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले निकालेका जायज र सकारात्मक निष्कर्षलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
युवा जनसङ्ख्या उच्च रहेको वर्तमान समय जनसाङ्ख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनसाङ्ख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति ध्यान केन्द्रित गर्नुपर्ने पनि बताए ।
‘विदेशमा रहेका लाखौं नेपाली युवाको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन, त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ’, प्रधानमन्त्री दाहालले भने ।
वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण प्रयास अगाडि बढाएको जानकारी दिँदै उनले विदेशमा रहेका लाखौँ युवालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया पनि सुरु भएको बताए ।