News Griha :: न्यूजगृह
कञ्चनपुरमा डेंगु संक्रमण बढ्दो, एकको मृत्यु

कञ्चनपुर— कञ्चनपुरमा केही सातायता डेंगु संक्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु संक्रमित भेटिएका छन् ।

डेंगु संक्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो । बेलौरी नगरपालिकाका–२८ वर्षीय हिक्मतबहादुर खत्रीको भदौ १२ गते धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने,‘जिल्लाको सबैतिर संक्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगु संक्रमण बढिरहेको देखिन्छ ।’

उनका अनुसार सबैभन्दा बढी डेंगु संक्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेंगु संक्रमण  पुष्टि भएको छ ।

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक/एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन् ।

‘ज्वरो, डेंगु, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छ’, उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:३१
Weather Update