News Griha :: न्यूजगृह
मकवानपुरमा डेंगु संक्रमित बढ्दै 

हेटौँडा— मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेंगुबाट संक्रमितको सङ्ख्या ४ सय २१ पुगेको छ ।

उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी संक्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म ३ सय २९ जनामा डेंगु रोगी फेला परेको छ ।

त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बाग्मती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एक जना डेंगु संक्रमित फेला परेका छन् ।

उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको डेंगुबाट मृत्यु भएको थियो ।

जिल्लामा सोमबारसम्म थप १२ जनामा डेंगुको संक्रमण फेला परेकामा हेटौँडा उपमहानगरपालिकामा छ, मकवानपुरगढी गाउँपालिकामा एक, मनहरि गाउँपालिकामा दुई जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका तीन जनामा पनि फेला परेको थियो ।

जिल्लामा  दैनिक सरदर दसभन्दा बढी व्यक्ति  डेंगुबाट संक्रमित भइरहेकाे अनुमान उक्त कार्यालयले गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:२३
Weather Update