
काठमाडौं— इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ ।
उनी २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । नेम्वाङ अहिले नेकपा एमाले संसदीय दलको उपनेतासमेत थिए ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमानदार छवि बनाएका नेम्वाङ इलामवासीका लागि ‘राजनीतिक मियो’ थिए । इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिए ।
२०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । २०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य भएका नेम्वाङ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बने ।
२०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापतिसमेत भए । नेम्वाङ २०६२/६३ को जनआन्दोलनसँगै पुनःस्थापित संसद्का सभामुख भए । २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष भएका थिए नेम्वाङ । संविधान सभाबाट संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । चारपटक सभामुख हुँदा उनी सर्वसम्मत नै भए ।
नेम्वाङको अवसानले इलाम शोकमग्न
नेम्वाङको निधन भएको खबरसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेतालगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति ब्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । गत आम निर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले नेम्वाङलाई इलामले सधैँ सम्झिरहने बताए ।
राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । नेकपा माओवादी केन्द्रका जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताए ।
मंगलबार बिहान १ बजे हृदयघात भएपछि नेम्वाङकोलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका हुन् ।
नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि (बुधबार) सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने छ ।













