
काठमाडौं— सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलले डेँगु रोगबाट मृत्यु भएकाहरूको तथ्याङ्क समेट्न मै लापरबाही गरेको देखिएको छ ।
पछिल्लो महिनामा प्रदेशमा डेँगुबाट पीडित तीन व्यक्तिको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेँगुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको जिकिर गरे ।
'अहिलेसम्म कञ्चनपुरका दुई र दार्चुलाका एक जनाको यो रोगबाट मृत्यु भएको छ,' उनले भने, 'भोलिदेखि तथ्याङ्क सच्याएर मृत्युबारेको तथ्याङ्क पनि समेटिन्छ ।' केन्द्रले प्रदेश र जिल्ला तहको रूपमा तथ्याङ्क नराख्दा पनि निर्देशनालयलाई डेँगु रोगबाट हुने मृत्युबारेको तथ्याङ्क समावेश गर्न केही समस्या देखिएको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा यो रोगबाट पीडित हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेका छन् । निर्देशनालयको तथ्याङ्कमा पछिल्लो नौ दिन (सेप्टेम्बर) मा मात्रै डेँगुका ९७ नयाँ रोगी फेला परेका छन् । नयाँ बिरामीमध्ये कैलालीमा ८१ र कञ्चनपुरमा १६ बिरामी भेटिएका छन् । यी बिरामीसमेत गत पुसदेखि हालसम्म प्रदेशमा सात सय ३२ जना यो रोगबाट पीडित भएका छन् ।
हालसम्म सबैभन्दा बढी कैलालीमा दुई सय ७६ डेँगुका रोगी भेटिएका छन् । कञ्चनपुरमा एक सय ३१, दार्चुलामा एक सय ९४, अछाममा ५२ र बाजुरामा ३२ बिरामी फेला परेका छन् । बझाङमा १२, बैतडीमा छ, डोटीमा १९ र डडेलधुरामा १० बिरामी फेला परेका छन् । पीडित बिरामीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । धेरै बिरामी उपचारपछि घर फर्किएका छन् ।
रोग बढ्न थालेपछि जिल्लामा लामखुट्टे मार्न हाल लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरिए पनि रोग रोकथाम हुन सकेको छैन । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ । लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।
सरकारी अस्पतालमा यो रोगका बिरामीको निशुल्करूपमा हुने गरेको छ । यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खान मन नलाग्ने आदि लक्षण देखिन्छ । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुन सक्ने बताइएको छ ।
खुला भाँडामा जम्मा भएको सफा पानी, गमलामा जम्मा भएको पानी, साइकल वा गाडीका टायरमा भरिएको पानी, खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धि विकास गर्ने भएकोले यस्ता भाँडामा पानी जम्मा हुन नदिने र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्दा पनि यो रोग रोकथाम गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।
यो रोग सार्ने लामखुट्टेले खासगरी दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेँगुको भाइरसबाट सङ्क्रमित एडिसएजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ ।