News Griha :: न्यूजगृह
प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोह पक्राउ 

काठमाडौं—  प्रहरीमाथि आक्रमण गरि उनीको हतियार लुटपाट गर्ने ६ जनालाई मोरङबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिममुर्तुजा, मोरङको बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा ५ का २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका-६ बस्ने ४० वर्षीय महम्मद आलम छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत ड्युटीमा खटिएका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई  शुक्रबार राति यो समूहले आक्रमण गरी उनीहरूको साथमा भएको हतियार लुटेर लगेको थियो । अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा आपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्दामा केही समय उनी पुर्पक्षको लागि कारागार समेत बसेका थिए । प्रहरीले सो समूहको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट लुटेको चाइनिज पेस्तोल पनि बरामद गरेको छ ।

त्यस्तै, दुई वटा पेस्तोल, तीन वटा रड, चक्कु, पेचकस, दुई वटा मोटरसाइकल, एक लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय नगद र लुटेको १६ वटा फोन बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि डाका मुद्दा र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:३३
Weather Update