काठमाडौं— सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा आइतबार दुई वटा अत्यधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् ।
सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् ।
चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जर छन् । यसबाट ठूला बससहित ६ वटा सवारीसाधनले एक साथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच २०७९ भदौ ९ गते चार्जिङ स्टेसन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो ।