News Griha :: न्यूजगृह
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापार

भोजपुर — चिराइतो खेती भोजपुरका किसानहरूको रोजाइमा परेको छ ।

बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१तिम्माका स्थानीय कृषक देवेन्द्र राउतले बताए  । यस वर्ष करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन गर्ने लक्ष्य उनको छ । 

राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेका छन् । 'हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्,' उनले भने, 'अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।'

उनले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भए १० देखि १५ लाखसम्म आम्दानी हुने बताए । प्रति किसान २० देखि ५० मन चिराइतो हुँदै आइरहेको छ ।  टेम्केमैयुङगाउँपालिका–१तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् ।

लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसान बताउँछन् । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीको भनाई छ ।

विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको कृषक प्रेमबहादुर बस्नेतले बताए । 'यसबाट राम्रो आम्दानी लिँदै आएको छु,' उनले भने, 'बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।'

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेत बताउँछन् । आलु, मकैबाट ५० हजार आम्दानी हुने गरेकोमा सोही बारीमा चिराइतो खेती गर्दा पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनले बताए  । 

यस खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो । कृषकले चिराइतोलाई भदौ, असोज र कात्तिकमा सङ्कलन गर्दछन् । पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताए ।

'विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु,' उनले भने, 'मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ । एक पटक सङ्कलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरकफरक जमिनमा खेती गर्नुपर्ने हुन्छ ।'

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रुपमा चिराइतो प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । चिराइतोको पात, डाँठ, जरा  लगायत सम्पूर्ण भाग प्रयोग हुन्छ ।  यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।

टेम्केमैयुङ गाउँपालिका– ५ मझौले,तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा,साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ,वासिङथर्पु,पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायतठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले माथिल्लो भेगका अधिकांश स्थानीयले यसको खेती गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १४:५०
Weather Update