काठमाडौं—अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।
शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको कार्यक्रममा उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्न लागिएको बताए ।
अर्थमन्त्री महतले भने, ‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो सङ्केतहरू देखा पर्न थालेका छन् । यसको मतलव यो होइन कि हामी समस्या रहित भइसक्यौं भन्ने होइन । समस्याहरू छन् । तर ती समस्यालाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू अब शुरु हुन्छ । र, त्यसका सङ्केतहरू देखिएका छन् । हाम्रो विदेशी मुद्राको सञ्चिति राम्रो छ । पर्यटक आगमन वृद्धि भइराखेको छ । त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाईड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौँ । त्यसको लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि शुरु गर्छौ । बजेटमा पनि हामीले बोलेका छौं ।’
उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा सङ्केतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे । नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिनेसमेत अर्थमन्त्री महतले बताए।
उनले भारतमा १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए ।