काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताएका छन् ।
पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी संघले बुधबार आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त गरे ।
‘पार्टीको तर्फबाट छिट्टै पर्यटन व्यवसायीसँग बसेर अन्तर्क्रिया तथा छलफल गरेर यसभित्र देखिएका समस्या समाधानमा लाग्नेछौँ’,उनले भने । उनले पर्यटन व्यवसायीले पार्टीलाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
महामन्त्री थापाले पार्टीले पहिलोपटक पार्टीका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको चर्चा गर्न बीपी साहित्य सम्मेलन गर्न लागेको बताउँदै उक्त कार्यक्रममा सहयोग र सहभागिताका लागि पर्यटन व्यवसायलाई आग्रह गरे ।
कांग्रेस धादिङका पूर्वसभापति एवम् पर्यटन व्यवसायी रमेश धमलाले नयाँ आउन लागेको पर्यटन ऐनका बारेमा घनीभूत छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय पर्यटन व्यवसायीको कुरा पार्टीले सुन्न थालेको भन्दै खुसी व्यक्त गरे ।
लोकतान्त्रिक होटल व्यवसायी संघका संयोजक दीपक महतले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि लोकतान्त्रिक पर्यटन व्यवसायी लागेको भन्दै यसलाई पार्टीले सहयोग गर्न आग्रह गरे ।
उनले लोकतान्त्रिक पर्यटन व्यवसायी संघको कार्यसमितिलाई विस्तार गरेर आफूले निर्वाचन गराउन चाहेको स्पष्ट पारे ।