News Griha :: न्यूजगृह
प्रसूति अस्पतालमा आजदेखि अनलाइन टिकटको व्यवस्था

काठमाडौं— परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आजदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ ।

अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजदेखि लागू हुनेगरि बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको हो । 

अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक/एक वटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ ।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको जानकारी दिए । उनले मुलुकको एकमात्र महिला स्वास्थ्यसम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको बताए ।

स्त्रीरोग अस्पतालले २०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट सेवा दिन सुरु गरेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:१६
Weather Update