News Griha :: न्यूजगृह
भारतले नेपालका थप ४ आयोजनाको १ सय ८० मेगावाट बिजुली किन्ने

काठमाडौं— नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ ।नेपालले यसअघि ४ सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप ४ वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ ।

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो । माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दूधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचञ्ज (आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट ८ रुपैयाँ ४० पैसाअर्थात् पाँच दशमलव २५ भारतीय रुपैयाँमा बिक्री हुनेछ ।

आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट ५.२५ भारतीय रुपैयाँमा २ सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:२४
Weather Update