डेंगु संक्रमण २१ हजार नाघ्यो, १३ को मृत्यु

काठमाडौं— नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार २ सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।
संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु संक्रमण दैनिकरूपमा बढेको बताए ।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।
संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगु संक्रमण देखिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० २०:३३