बाग्लुङ— बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुंगा बिक्रीबाट ३१ लाख आम्दानी गर्यो ।गत आवमा पालिकाको कुल ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुंगा उद्योगबाटै भएको थियो ।
पालिकाले कार्यविधि निर्माण गरेर ढुंगा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी १६ लाखले वृद्धि भएको छ ।
ढुंगा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुंगा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ ।
पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुंगा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो ।
पालिकामा अहिले १२ वटा ढुंगा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुंगा निर्यात गरिरहेका छन् ।
ताराखोला गाउँपालिका–५ मा पिके ढुंगा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुंगाको माग उच्च रहेको बताउँदै काठमाडौं, पोखरा, बुटवललगायतका नेपालमा मुख्य शहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिए ।
‘केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु’,उनले भने,‘यहाँ ढुंगा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पुर्याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुंगा पुर्याइन्छ ।’
यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उनको भनाइ छ ।