
काठमाडौं— सफा हिमाल अभियानअन्तर्गत प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोमबार सोलुखुम्बुको नाम्चे बजार पुगेको छ ।
उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाइ कार्यलाई थप प्रभावकारी बनाउन स्थानीयसँग अन्तर्क्रिया गर्ने भएको छ । अन्तर्क्रियापछि करिब हप्ता दिनको पदयात्रा गरेर सगरमाथा आधार शिविर पुग्ने योजना टोलीको छ ।
पदयात्राको क्रममा स्थानीयलाई सचेतना जगाउन एवम् अभियानको प्रचारप्रसारको लागि पदमार्गमा सरसफाइ समेत गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
यसअघि १७ चैत्रमा अन्नपूर्ण हिमाल सफाइको लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली अन्नपूर्ण आधार शिविर पुगिसकेको छ ।
आधार शिविर जाने क्रममा उक्त टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गरी महानगरको लोगो अंकित झण्डा हस्तान्तरण गरेका थिए । अन्नपूर्ण हिमाल सफाइ अभियानमा पोखरा महानगरको समेत सहकार्य छ ।
यस्तै, बरुञ्चे हिमाल सफाइको लागि सेनाको टोली २३ चैत्रमा आधार शिविरतर्फ प्रस्थान गर्ने योजना रहेको छ । यस वर्ष सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाले लिएको छ ।