News Griha :: न्यूजगृह
म्याग्दीको गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी— म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ ।गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा २ वर्षअघि गुर्जामा रोपिएका थिए ।

गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो’, उनले भने,‘सबै बोटमा फल लागेको छ ।’

गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि २ हजार ७ सय मिटर छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६  कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् ।

अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८/७९ मा ७ सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियो ।

आव २०७७/७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा रोपिएका थिए ।

कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताए । यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:१७
Weather Update