News Griha :: न्यूजगृह
विद्यार्थीले लगाए इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला

काठमाडौं— त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच बुधबार भएको विभिन्न ५ बुँदे सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।

५ बुँदे सहमति खारेज हुनुपर्ने माग राखेर ताला लगाइएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले जानकारी दिए ।

‘वास्तविक विद्यार्थीको सहभागिताबिना बुधबार भएको सहमति खारेज हुनुपर्छ । इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीसँग बसेर अर्को सहमति गर्नुपर्छ,’उनले भने ।

त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनले इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिने, हप्ता दिनभित्र प्रतिवेदन दिने गरी विद्यार्थी प्रतिनिधिसहित समिति गठन र त्यसका आधारमा शुल्क लागु गर्ने, हाल स्थगित भएको प्रवेश परीक्षालगायतका कार्यक्रम सुचारु गर्ने र आमरण अनशनलगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:१९
Weather Update