मोरङ— जिल्लाको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ ।
विभिन्न राजनीतिक दलले यहाँ चरणबद्ध संघर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्ने गरी निर्धारण गरिएको करलाई पुनरावलोकन गर्न माग गरेका हुन् ।
ती दलले पहिलाकै अवस्थामा करलाई ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
‘कर तिर्न हामी तयार छौँ, तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नाराका साथमा बृहत् नागरिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।
कार्यक्रमसँगै कर वृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
सुन्दरहरैँचा नगरपालिकाको १२ औँ नगरसभाबाट आव २०८०–८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल जानकारी दिए ।
उनले जनताको जीवन स्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गरे ।