News Griha :: न्यूजगृह
जुटको उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट

मोरङ— पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा मोरङमा सात हजार ३५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव ०७९–७० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । 

विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेब सिंहले जानकारी दिए ।

मोरङमा विगतका वर्षमा प्रति हेक्टर एक दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्यांक छ । यस वर्ष उत्पादन बढेर प्रति हेक्टर एक दशमलव ५० मेट्रिक टन पुग्ने प्रमुख सिंह बताउँछन् । 

आव ०७८–७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार थियो । गत आवमा जुटको मूल्य प्रतिक्विन्टल नौ हजार थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल आठ हजार तीन सय पुगेको ज्ञान केन्दले जनाएको छ ।

कोशी प्रदेशमा छ हजार ९६२ हेक्टर जमिनमा जुट खेती गरिन्छ । गत वर्ष सो जमिनमा नौ हजार नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए ।

प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ । 

जुट खेतीको मुख्य समस्या खाडल रहेकोले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवर्द्धन कार्यक्रमअन्तर्गत २० हजारका दरले खाडल खन्न सहयोग गरिएको कार्यालयले जनाएको छ । 

मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ । झापामा पाँच सय ५० हेक्टर र सुनसरीमा एक हजार ३३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ । 

नेपालमा भारत र बंगलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:१७
Weather Update