- सञ्चालक भएको फाइदा उठाउँदै सहकारीबाट एकै जनाले १५ करोड रुपैयाँसम्म बिना धितो ऋण लिएका छन् । र, त्यो ऋण फिर्ता गर्न नसक्दा सहकारी संस्था समस्यामा परेको छ । यो पोखराको एक सहकारी संस्थाको अवस्था हो ।
- देशभरमा एक दर्जन भन्दा बढी सहकारीहरू सञ्चालकको यस्तै बदमासीका कारण अति समस्यामा परेका छन् । समस्यामा परेका सबै सहकारी संस्थाहरूको कर्जा प्रवाह 'घरजग्गा' जस्तो अनुत्पादक क्षेत्रमा गएर 'होल्ड' भएको छ । समस्यामा परेका यस्ता सहकारीहरूको अवस्था हेर्दा उनीहरूले ६० प्रतिशतभन्दा बढी लगानी 'घरजग्गा'मा गरेको देखिन्छ ।
- सहकारी संस्थाहरूले नियमअनुसार सदस्यहरू मार्फत आएको बचत मात्र सङ्कलन गर्न पाउँछ । र, संस्थामा सदस्य भएकाहरूलाई मात्रै ऋण प्रवाह गर्न पाउँछ । तर देशका सबै सहकारीले आफ्ना सदस्य भन्दा बाहेकका व्यक्तिबाट बचत सङ्कलन गरेका छन् । र, विना धितो सदस्य बाहेकका व्यक्ति, संस्था वा समूहलाई ऋण प्रवाह गरेका छन् ।
- ठुलो पुँजी भएका सहकारीहरू सबैभन्दा समस्यामा छन् । अति न्यून तरलता राखेर कर्जा प्रवाह गर्दा ती सहकारीहरू अहिले समस्यामा छन् । जसले गर्दा सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकिरहेका छैनन् । र, बचतकर्ताको भौतिक आक्रमणमा परिने डरले यस्ता सहकारीका सञ्चालकहरू भाग्दै हिँडेका छन् ।
- ठुलो पुँजी भएको र देशभर सञ्जाल रहेको २ वटा सहकारीहरू अब करिब उठ्नै नसक्ने अवस्थामा छन् । एउटा सहकारी त सहकारी विभागले समस्याग्रस्त घोषणा गरी आफ्नो नियन्त्रणमा लिइसकेको छ । धितो बिना आँखा चिम्लेर तरलताको समेत ख्याल नराखी कर्जा प्रवाह गर्दा उनीहरू 'रिकभरी' गर्ने अवस्थामा छैनन् । र, ऋणीहरूले पनि बजारको कारण देखाउँदै अहिलेको अवस्थामा ऋण तिर्न नसक्ने अडान लिइरहेका छन् ।
काठमाडौं— माथि उल्लेखित कुराहरूले अहिले नेपालमा सहकारी संस्थाहरूको अवस्थितिलाई चित्रण गर्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको सहकारी विभागका अनुसार नेपालका ५ सय भन्दा बढी सहकारी संस्थाहरूमा अहिले समस्या देखिएको छ । यस्तै अवस्था रहिरहने हो भने यो समस्या अझै बढ्न सक्छ । अनुसन्धानमा असर पर्ने कारण देखाउँदै विभागले सहकारीहरूको नाम भने खुलाएको छैन ।
यस्ता प्रवृत्तिका कारण अहिले देशभरकै सहकारी संस्थाहरूमाथि बचतकर्ताको विश्वास गुमेको सहकारी विभागका रजिस्टार नमराज घिमिरे बताउँछन् । 'जसले नियमलाई लत्याएर सहकारी अनुशासनको उल्लंघन गरे । उनीहरू अहिले समस्यामा परेको सही हो । यी र यस्तै प्रवृत्तिका सहकारी संस्थाहरूका कारण अहिले देशभरि कै सहकारी संस्थाहरूमाथि बचतकर्ताको विश्वास गुमेको छ’, रजिस्टार घिमिरेले भने, 'जनताप्रति सहकारी आतंक बढेको छ ।'
सहकारी संस्थाहरूले आफूलाई अन्य बैंक तथा वित्तीय संस्थाहरू जसरी चलाउन खोज्दा अहिलेको अवस्था आएको घिमिरेको भनाई छ । विशेषगरि यसरी समस्यामा परेका सहकारीहरूले अस्वाभाविक रुपमा बचत सङ्कलन, कर्जा प्रवाह र कार्यक्षेत्र विस्तार गरेको देखिन्छ ।
विभागका अनुसार बचत तथा ऋण सहकारी र बहुउद्देश्यीय सहकारीहरूमा यस्तो समस्या व्यापक रुपमा देखिएको छ । 'समुदायमा आधारित रहेर संचालनमा आएका सहकारीहरूमा यस्तो समस्या देखिएको छैन । र, उनीहरूलाई आत्तिनुपर्ने अवस्था पनि छैन ।'
कुनै बेला ओरियन्टल सहकारी, सिभिल सहकारीमा देखिएको समस्या नै ठुला भनिएका सहकारीमा देखिएको छ । यी सहकारीको सर्वाधिक ठुलो लगानीको हिस्सा घरजग्गा कारोबारमा गएर थुप्रिएको छ । त्यो बाहेक सहकारीको पैसा 'होल्ड' भएको अर्को क्षेत्र भनेको शेयर बजार हो ।
राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष मित्रराज दवाडी बिना धितो करोडौंको चलखेल गर्ने सञ्चालकहरूका कारण सहकारी बदनाम भएको बताउँछन् । 'यसरी बिना धितो करोडौँको चलखेल गर्ने सञ्चालकहरूको कारण सहकारीको बदनाम भएको हो’, अध्यक्ष दवाडी भन्छन्, 'स्वनियममा चलेर सामान्य श्रमिक, गृहिणी र कालिगढहरुको पैसा सङ्कलन गरी त्यसलाई आफूखुसी चलाउनु कुनै हिसाबले जायज कुरा होइन ।'
दवाडीले यस्ता प्रवृत्तिका सहकारीहरूको दर्ता नै खारेज गर्नुपर्ने धारणा राख्छन् । उनकाअनुसार ‘बैंकको बचत सहकारीले खोस्ने र सहकारीको बचत बैंकले खोस्ने प्रतिस्पर्धा’ले पनि अहिलेको अवस्था आएको हो । यस्तै अवस्थामा केहीले भने ‘हल्लाखल्ला’ मच्चाएर फाइदा लिने प्रयत्न गरेको उनले बताए ।
सामान्यतया सहकारी र वित्तीय संस्थाहरूको बुझाई के हुन्छ भने बचतकर्ताहरू आफ्नो पैसा एकैचोटी निकाल्न आइपुग्दैनन् । तर ठुलो पूँजी भएका सहकारीहरूमा यसरी समस्या देखिन थालेपछि पछिल्लो पटक बचतकर्ताहरूले सहकारीहरूलाई एकैचोटी पैसा फिर्ता माग्न थालेका छन् । जुन कुराले गर्दा सहकारी संस्थाहरू अहिले सबैभन्दा बढी समस्यामा छन् ।
'अहिले सबै सहकारीहरूमा तरलता अभाव छ । बजारको अवस्था देखाउँदै ऋणीहरूले कर्जा फिर्ता गर्न सकिरहेका छैनन्’, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले भन्छन्, 'आम सहकारीमा बचतकर्ताहरूले एकैचोटी पैसा फिर्ता माग्दा समस्या देखिएको हो ।' कँडेलले केही सहकारीमा सुशासन अभाव देखिए पनि सम्पूर्ण सहकारीहरूको अवस्था हेर्दा आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताए । उनले सहकारीहरूको समस्या समाधानका लागि ‘सहकारी बचाऊ राष्ट्रिय अभियान’ मार्फत नै सहकारीकर्मीहरु लागिरहेको बताए ।
यस्तो अवस्थामा के गर्दैछ त सरकार ?
भर्खरै मात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री भएर आएकी रञ्जिता श्रेष्ठ चौधरीले सहकारीमा देखिएको समस्या समाधानको लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
उनले सम्बन्धित सबै सरोकारवालाहरूसँग हाल सहकारीमा देखिएका समस्याहरूको समाधानका लागि आफूले पहल गर्ने बताइन् । साथै आफूले सहकारीहरूको नियमन र व्यवस्थापनका लागि नीतिगत रुपमा गर्नुपर्ने निर्णय पनि मन्त्रालयमार्फत गर्ने बताइन् ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले भने सहकारी संस्थाहरूमा कानुनको परिपालनामा कमजोरी देखिएकोले त्यस्ता सहकारीहरूलाई कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको बताए । 'अहिले नेपालको आर्थिक अवस्था साँच्चै समस्याग्रस्त छ । र, त्यसको प्रभाव सहकारी संस्थाहरूमा पनि देखिएको पक्कै हो', रेग्मी भन्छन्– 'तर नियमविपरित सहकारीमार्फत जनताको पैसा अपचलन गर्न खोज्नेहरूलाई कारबाही हुन्छ ।' सम्बन्धित सबै सरोकारवालाहरूसँग यो विषयमा औपचारिक र अनौपचारिक दुवै हिसाबमा सरकारले छलफल अगाडि बढाइरहेको रेग्मीले जानकारी दिए ।
नेपालमा सहकारीको अवस्था :
नेपालमा सहकारी संस्थाको अवधारणा सुरु भएको ६६ वर्ष पुरा भयो । सहकारी विभागको तथ्याङ्कअनुसार हाल नेपालमा २ हजार ९ सय ७९ सहकारी संस्थाहरू दर्ता भई सञ्चालन भइरहेका छन् । जसमा ७४ लाख मानिसहरू सदस्यको रुपमा आबद्ध छन् । र, ९० हजार भन्दा बढिले सहकारी संस्थामा रोजगारी पाएका छन् ।
नेपालको कुल अर्थतन्त्रको १७ प्रतिशत हिस्सा सहकारी संस्थाहरूले गर्ने आर्थिक क्रियाकलापले ओगट्छ । अर्थात्, ७ खर्बभन्दा बढी पुँजी सहकारीमार्फत परिचालित छ ।
सहकारी विभागका अनुसार सहकारीमार्फत ५ खर्बभन्दा बढी कर्जा प्रवाह भएको छ । वित्तीय, कृषि, व्यावसायिक र उत्पादनमूलक गरी नेपालमा १९ प्रकारका सहकारीहरू विभागमा दर्ता हुँदै आएका छन् ।
विक्रम संवत् २०१३ सालमा चितवनमा खुलेको बखान सहकारी नेपालको पहिलो सहकारी हो । हाल विश्वभर सहकारी अभियान सबैभन्दा सफल अभियान मानिन्छ । सहकारीको विश्वस्तरीय संजाल यति ठुलो छ कि विश्वभरमा ३ करोडभन्दा बढी यस्तो संस्थाहरू छन् ।