News Griha :: न्यूजगृह
'आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन'

काठमाडौं— औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस)मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । 

आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए ।

‘आँखा पाक्ने संक्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘तर, हामीसँग पर्याप्त मात्रामा आँखामा पाक्ने औषधि ‘आई ड्रप’ छ, आँखा अस्पताल र अस्पताल अगाडि रहेका औषधि पसलमा यो औषधि पाइन्छ ।’

एभरेष्ट पारान्टेरलल्स् सञ्चालक उमङ्ग रानासरियाले आँखा पाक्ने संक्रमण बढे पनि औषधिको अभाव हुन नदिएको बताए ।

सञ्चालक रानासरियालका अनुसार माग बढेसँगै अहिले उत्पादन पनि तीन गुणा बढी भइरहेको छ । अहिले मासिक ९० हजार भाइल औषधि उत्पादन गरिरहेको उनको भनाइ थियो । 

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले आँखामा हाल्ने ‘आई ड्रप’को अभाव हुन नदिन र मागअनुसार आपूर्ति भइरहेको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:२६
Weather Update