
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सबै नेपालीबाट टोलीप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले एसिया कप नेपालका लागि विशेष अवसर भएको बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र,एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो ।’
रोहितले पहिलोपटक एसिया कप खेल्नु सबैका लागि ठूलो उपलब्धि भएको बताए । उनी भन्छन्,‘यो हाम्रा लागि विशेष अवसर हो । पाकिस्तान निकै राम्रो टोली हो र हामी उनीहरूलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौँ,भारतविरुद्ध पनि । हामी यहाँका लागि योग्य थियौँ । त्यसैकारण यहाँ छौँ ।’
उनले नेपाल र पाकिस्तानको टोलीबीच अनुभवमात्र फरक भएको प्रतिक्रिया दिए ।