कैलालीमा हैजाको बिरामी फेला

धनगढी— कैलालीको गौरीगंगा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।
बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए ।
दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ । कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको संक्रमण गराउँछ ।
हैजा भएमा तारन्तार बान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुनसक्छ ।
बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा संक्रमण हुने जोखिम नरहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० २१:५९