
उदयपुर— रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । गाउँपालिकाका अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर हुन् ।
सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेंगु संक्रमण भएपछि जिल्ला अस्पताल गाईघाटमा उपचार गराइएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा सोमबार सुमित्राको न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए ।सोमबार नै उनको शवलाई गाउँमा ल्याएर मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष मगरको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा एक हजार जना डेंगुबाट संक्रमित भइसकेका छन् भने २ को मृत्यु भएको छ ।