बागलुङ— जिल्लामा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।
केन्द्रले आलु प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए ।
उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रुपमा आलु खेतीमा छन् ।
गत आर्थिक वर्षमा आलु प्रबर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा तीन करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
ज्ञान केन्द्रका लागि बिनियोजित कूल बजेटको झण्डै आधा बजेट आलु प्रबर्द्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ ।
यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
आलु प्रबर्द्धन कार्यक्रमअर्न्तगत किसानलाई आलुको बीऊ, कृषि औँजारदेखि बजारीकरणमा सहयोग पुर्याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।
‘कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौं,’ पुनले भने, ‘उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्याउँछौँ ।’
गत वर्ष बागलुङमा तीन हजार ६५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् ।