News Griha :: न्यूजगृह
तीर्थयात्रीको उपचार गर्न गोसाइँकुण्ड पुगे चिकित्सक टोली
फाइल तस्बिर

काठमाडौं— रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । 

बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार संघ काठमाडौंको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।

संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द बस्यालले डा. निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसिन सोसाइटीका सात जना चिकित्सक गोसाइँकुण्ड पुगेको जानकारी दिए ।

डा. जोशीले हिमालय उद्धार संघको सोलुखुम्बुस्थित फेरिचे स्वास्थ्य चौकीमा काम गरिसकेका छन् । उक्त डाक्टर समूहले १० दिन उक्त क्षेत्रमा सेवा गर्ने छ । 

‘उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ,’ बस्यालले भने ।

संघले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको संघका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए ।

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइकुण्डमा रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्यको पहलमा भर्खरै मोबाइल फोनको टावरसमेत राखिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:५१
Weather Update