News Griha :: न्यूजगृह
नौ समितिको सभापतिमा भागबण्डा, कांग्रेसकी आरजु राणादेखि सन्तोष चालिसेसम्म निर्विरोध

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गत १० विषयगत समितिको सभापति पदमा सोमबार निर्वाचन हुने भएको छ ।

सभापति चयनका लागि नौ वटा समितिमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । एउटा समितिमा भने निर्वाचन हुने भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रतिनिधि सभामा सहभागी सबै दलहरूको  भागबण्डा हुँदा नौ वटा समितिमा एक जना मात्रै उम्मेदवारी परेको हो । यी नौ वटा समितिमा निर्विरोध सभापति चयन भइसकेका छन् ।

sansadiya samiti elections1693186901.jpg

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको हो । एकल उम्मेदवारी परेको समितिहरूमध्ये अर्थमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्धमा जनता समाजवादीका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।

कानुन, न्याय तथा मानव अधिकारमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाको उम्मेदवारी परेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी छ ।

पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको छ । 

deepak singh-sabhapati1693152981.jpg

यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । यस समितिको सभापति चयनमा निर्वाचन हुने भएको छ ।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन । आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता भएको हो ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:५०
Weather Update