काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनु पर्ने बताएका छन् ।
वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा उनले आफूले साइन गरेको नोट फ्रेममा रहोस् र कारोबार भने डिजिटल होस् भन्ने चाहाना रहेको बताए ।
उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने, सुशासन आउने र कारोबारहरू रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने बताएका थिए ।
‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरमध्ये एक हुँ, तर मेरो चाहाना त्यो साइन गरेको नोट फ्रेममा रहोस्, र हाम्रो कारोबार भने डिजिटल होस् भन्ने हो,’ उनले भने, ‘त्यो धेरै हदसम्म पूरा हुन थालेको छ, यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ ।’
उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान सुरु भएको भन्दै त्यसको फलस्वरुप प्रायः नेपाली अहिले मोबाइल बैंकिङ्क प्रयोग गर्न सक्ने भएको जिकीर गरे ।
एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था रहेको बताउँदै त्यसलाई मानिसहरूले उपयोग गर्न नसकेको उनको भनाइ थियो ।