News Griha :: न्यूजगृह
बाग्लुङमा लम्की स्किनबाट ३ करोडको क्षति

बागलुङ– लम्की स्किन रोगको संक्रमणबाट बाग्लुङमा झन्डै ३ करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा ५ हजार ३ सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म ६ सय १७ पशुको मृत्यु भएको बताइएको छ ।

रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बाग्लुङले जनाएको छ ।केन्द्रका अनुसार मृत्युको २ दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्यांक छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो ।

केन्द्रले संकलन गरेको तथ्यांक अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा ३ करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बाग्लुङका प्रमुख डा.ऋषिराम सापकोटाले जानकारी दिए ।

उनका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बाग्लुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेको बताए ।

उनले एक सय २२ बङ्गुर मरेको तथ्यांक ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले ४ सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिए ।

बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:१०
Weather Update