News Griha :: न्यूजगृह
स्याङ्जाको छुर्पी पुग्यो अमेरिका 

स्याङ्जा— स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।

सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए ।

‘हामीले यहाँ संकलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ’,उनले भने,‘दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौं निर्यात गर्ने गरेका छौँ ।’

उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे । यनको दुग्ध संकलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

‘साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८ सयदेखि एक हजार एक सय लिटरसम्म दूध संकलन हुन्छ’,उनले भने,‘दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ,दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।’

अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताए । उनले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:०८
Weather Update