News Griha :: न्यूजगृह
आँबुखैरेनी अस्पतालमा यही वर्षदेखि डायलायसिस सेवा सुरु हुने

तनहुँ— तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि डायलायसिस सेवा सुरु गर्ने भएको छ ।

यसका लागि गाउँपालिकामा ३ थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई ३ उपकरण प्राप्त भएको हो । करिब ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । उनले भने,‘लामो समयको प्रयासले सार्थकता पाएको छ,अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुन्छ ।’

मिर्गौलापीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ ।

गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ । उनले भने,‘यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलायसिस  गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ ।’

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:०७
Weather Update