News Griha :: न्यूजगृह
माण्डु हाइड्रोको आईपीओ खुला

काठमाडौं— माण्डु हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आइतबार बैंकिङ समयपश्चात आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको ७९ हजार ३० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ बिक्री अवधि भदौ १३ गतेसम्मका लागि तोकिएको छ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ ।

बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०६:०५
Weather Update