
काठमाडौं— आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि पूर्वसचिव भीम उपाध्यायले माफी मागेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी परेसँगै उनले माफी मागेका हुन् ।
भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङले उपाध्यायविरुद्ध बिहीबार उजुरी दिएकी थिइन् ।
‘मैले बिनम्र तरिकाले फोनमा कुरा गरेर माफी मागिसकेपछि, पोष्ट हटाइसकेपछि,’ उपाध्यायले भने, ‘फेसबुक स्टेटस लेखेर गलत हुन पुगेछ, मेरो म्यासेञ्जर नखुलेकाले बेलैमा तपाईको मेसेज हेर्न पाइनँ, प्राविधिक समस्याबारे राम्ररी बुझाइसकेपछि केही समूहले उकास्दै बहिनीलाई उजुरी फिर्ता नलिन दबाब दिएको र मिडियामा सोही समाचार प्रकाशित गरिरहेको देखिरहेको छु, मबाट भुल भएको हो, दुःख व्यक्त गरिसकेको छु ।’
उपाध्यायले आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै फोटो फेसबुकमा हालेको भन्दै पूर्णीमायाले उजुरी दिएकी थिइन् ।













