काठमाडौं— नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेँडामा उपभोक्ताहरूले संयमता अपनाउनु पर्ने बताएका छन् ।
महासचिव गजुरेलले विश्व बजारमा प्याज अभाव भएसँगै ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरूले राष्ट्रिय हितका लागि प्याजको खपत कम गर्नु पर्ने बताएका हुन् ।
‘विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेला, ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौँ, उपभोग कम गरौँ भन्न सकिन्छ’ उनले भने, ‘प्याज खपतलाई आम उपभोक्ताले संयमता अपनाएर अलिकति कम खपत गरिदिनु भयो भने, देशका लागि र आन्तरिक उत्पादनलाई जोड दिनु पर्छ ।’
यसैबीच उनले नेपालीहरूले मूल्य वृद्धि सन्तुलनका लागि दैनिक आवश्यक वस्तु चामल र तरकारीबाहेक वस्तुको खपत केटौती गर्नु पर्ने बेला आएको बताए ।
महासचिव गजुरेलले सरकारले पनि प्याज तथा गोलभेँडा जस्ता तरकारीजन्य कृषि उपजहरूमा आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राखेका थिए ।
उनले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरूको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको बताएका थिए ।
‘विश्व अर्थतन्त्रमा परेको असरले भनेर आयातलाई रोकिसकेपछि त हामीले कहाँ उत्पादन गर्ने प्रविधि के भनेर राज्यले ल्याउनु पर्ने हो, अहिलेसम्म राज्यले पोलिसीहरू ल्याएको त देखिँदैन,’ उनले भने ।
उनले प्याज आयात असहजता भएकले मूल्य वृद्धि उच्च रुपमा भएको बताउँदै कालोबजारी बढ्ने भए पनि व्यवसायीहरूको गोदाममा समेत प्याज नभएको उल्लेख गरेका थिए ।
‘केही व्यवसायीहरूले अतुलनीय रुपमा सोचेभन्दा बढी खाएका होलान्, घरमा लुकाएर, गोदाममा माल छैन भनेको देखिँदैन,’ उनले थपे, ‘अर्थमन्त्री कहाँ हामी डेलीगेसन जाँदा आन्तरिक उत्पादनलाई जोड दिन थप १३ प्रतिशत भ्याट लाग्ने छ भनेर भ्याट लगाइएको थियो ।’
उनले बजारमा कृषिजन्य वस्तुहरूको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताए ।