News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले मुलुकको रुपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ ।

गत मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले पार्टीमा युवाको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अगावै युवा लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए ।

बैठकले देशभर पार्टीको विस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकामा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र सांगठनिक प्रयास त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:५८
Weather Update