काठमाडौं— शेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।
साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्से २९.४७ अङ्कले वृद्धि हुँदा २०४५.४५ को बिन्दुमा बन्द भएको छ । मङ्गलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो । गत सोमबार २ महिनापछि २ हजारको बिन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।
मौद्रिक नीतिपछि निराश लगानीकर्ता भदौ १ देखि लागू हुने निक्षेपको ब्याजदर बढ्दा थप निराश भएका थिए । जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको ७ साउनमा २२२७ को बिन्दुसम्म पुगेको नेप्सेमा करिब २३० अङ्कको गिरावट भयो । तर, मङ्गलबारदेखि भने नेप्से पुनः बढ्न सुरु भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ । बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ ।