News Griha :: न्यूजगृह
तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

धादिङ— धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । 

मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँ लाग्दो छ । लामा भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन ।’ 

एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । ‘सुरुका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको छ । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ,’ लामाले विकटको समस्या सुनाए ।

हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए । 

लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाएका छन् ।  समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो चार सयको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा एक सय ५० मा दिइरहनुभएको छ । एक सय ५० किलोले नै हिसाब गर्ने हो भने पनि नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ ।
लामाको बारीमा फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति दुई सयमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउ बाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उनको माग छ । 

स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दूरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:१६
Weather Update