News Griha :: न्यूजगृह
एमालेको दाबी : राष्ट्रपतिले बोलाएको बैठकबारे जानकारी छैन

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकबारे जानकारी नभएको एमालेले जनाएको छ ।

यसैबीच संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ ।

संसदमा जारी अवरोध हटाउने निरन्तर प्रयास भएको बताउँदै एमाले संसदीय दलका उपनेता तथा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार २ बजे पुनः छलफल हुने बताए । 

सोमबार रातिको छलफल सकारात्मक भएको बताउँदै नेम्वाङले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आफूहरूलाई जानकारी नभएको दाबी गरे ।

‘राष्ट्रपति जीले प्रधानमन्त्रीकै सल्लाहमा यस्ता बैठकहरू बोलाउने हो, हामी प्रधानमन्त्रीकै पहलमा निरन्तर संसद सुरु गर्ने पहलमा छौँ, आज पनि २ बजे बैठक बस्दै छौँ,’ उनले भने, ‘राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको हामीलाई जानकारी छैन ।’

यद्यपि, राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी ओली, उपनेता नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बिहान साढे आठ बजेका लागि तय गरिएको सर्वदलीय बैठकमा आमन्त्रण गरेका थिए ।

यसअघि पौडेलले साउन ३१ गते ओलीलाई शीतल निवास बोलाएर संसद सुरु गर्ने विषयमा छलफल गरेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:०७
Weather Update