काठमाडौं— दुबईमा आइतबार प्रतितोला सुनको मूल्य ९० हजार ८ सय ५५ (२,५४२.३१दिराम) छ । र, नेपालमा आइतबार नै सुन प्रतितोला १ लाख ८ हजार ५ सय ९७ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल र दुबईको बजारमा सुनको प्रतितोला मुल्यमा फरक निकाल्ने हो भने साढे १७ हजारभन्दा बढि छ । ‘जुनसुकै बेला पनि दुबईको तुलनामा नेपालमा प्रतितोलामा १० हजार रुपैयाँभन्दा बढि फरक पर्छ’, एक सुनचाँदी व्यवसायी भन्छन्, ‘बजारमा सुनको माग अत्याधिक भएको अवस्थामा त नेपालमा व्यापारीहरुले तोकिएको मूल्यभन्दा बढि तिरेर पनि सुन किन्दै आएका छन् ।’
भन्सार विभागका अनुसार विदेशबाट नेपाल आउने एक जना नेपालीले ५ तोला (५०ग्राम) सम्म सुन आफ्नो व्यक्तिगत प्रयोजनका लागि ल्याउन पाउँछन्। भन्सार विभागकाअनुसार, ‘५० ग्राम सुन, ५ सय ग्राम चाँदी र १० लाखसम्मको बहुमुल्य धातु मिश्रित गहना यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु’ हुन् । यही नियम टेकेर ‘तस्कर’ ले नेपालमा सुन भित्राउँदै आएका छन् ।
विशेषगरि श्रमिक भिसामा दुबई गएका धेरै नेपालीहरु घर फर्किने बेलामा तस्करको‘भरिया’को रुपमा प्रयोग हुँदै आएका छन् । त्यो बाहेक दुबई घुम्न जाने नेपालीहरू पनि कहिँकतै यस्ता तस्करसँगको‘कनेक्शन’मा आउँछन् र आफ्नो घुमफिर खर्च कटौती गर्नका लागि भरियाको रुपमा उपयोग हुन्छन् । यो विषयमा भन्सार विभाग बेखबर छैन, तर पनि कानुनी रुपमा केही गर्न सक्दैन ।
‘५० ग्रामसम्म सुन गहनाको रुपमा ल्याउन पाउने नियम छ । तैपनि हामीले शंका लागेका व्यक्तिलाई सोधपुछ गर्छौँ । भरियाको रुपमा सुनका गहना पहिरिएका व्यक्तिकोहुलियाबाट नै हामीलाई लगभग पक्कापक्की हुन्छ’, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी विष्णु पौडेलले भने,‘सबैभन्दा बढि यस्तो सुनको भरिया हुने कामदार दुबईबाट फर्किएका हुन्छन् । त्यो बाहेक कतारबाट फर्किनेहरुमाथि पनि हामीले नजर लगाइरहेका हुन्छौँ ।’
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दिएको जानकारी अनुसार विमानस्थलको बाटो हुँदै विदेशबाट दैनिक ५ किलो भन्दा बढिका गहनाहरु नेपाल भित्रिन्छन् । सुन किनेको बिल देखाएको खण्डमा भन्सार कार्यालयले सहज रुपमा त्यस्ता व्यक्तिहरूलाई छाडिदिन्छ । तर सुन किनेको पुष्टी हुने कुनै पनि कागजपत्र देखाउन नसकेको खण्डमा भन्सारले प्रतिग्राम ९ सय ५० को दरले भन्सार शुल्क लिँदै आएको छ । यो प्रति ५० ग्रामसम्मको सुनको लागि मात्र हो । यदि कुनै व्यक्तिले ५१ ग्रामभन्दा माथिको सुनको गहना लगाएको छ र त्यसको पुष्टि गर्ने कागजपत्र छैन भने भन्सारले प्रति ग्राम १ हजार ५० को दरले भन्सार शुल्क लगाउँछ ।
भन्सार तिर्दा पनि तस्करलाई फाइदाः
भन्सार कार्यालयका अनुसार दैनिक रुपमा ३ किलो भन्दा बढि मात्रामा सुनको राजश्व व्यक्तिहरूलाई तिराउँदै आएको छ । ‘आफ्नो सुन भएको प्रमाण दिन नसक्ने व्यक्तिहरूलाई हामीले कडिकडाउ गरेर राजश्व तिराउँदै आएका छौँ’, भन्सार कर्मचारी पौडेलले भने, ‘तर कतिपय शंका नै गर्न नसकिने व्यक्तिहरुले पनि बजारमा यस्ता सुन भित्राएका चाहीँ हुन सक्छन् ।’
यसरी दुबईबाट ल्याएको सुन विमानस्थलको भन्सार कार्यालयबाट राजश्व तिरे रै नेपाली बजारमा भित्रिएपनि तस्करलाई फाइदा नै छ । अर्थात्, १ तोला सुन विमानस्थलबाट छिराउँदा राजश्वबापत ९ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । तर दुबईमा भन्दा १७ हजार रुपैयाँ बढि नेपाली बजारमा मूल्य फरक पर्ने भएपछि राजश्व तिरेको खण्डमा पनि तस्करलाई प्रति तोला ७ हजार ५ सयसम्म फाइदा हुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार दैनिक यसरी राजश्व तिर्ने सुन ३ किलो (३ हजार ग्राम) बराबर हुन्छ । अर्थात्, ३ सय तोला । यसरी तस्करले दैनिक २२ लाख ५० हजार रुपैयाँ राजश्व तिरे कै खण्डमा पनि सुनबाट लाखौं नाफा कमाउँछन् ।
त्यसो त सामान्य हिसाबले श्रम गरेर कमाएको रकमबाट घरपरिवारको लागि पनि दुबई लगाएतका खाडी मुलुकबाट नेपालीहरुले सुन खरिद गरेर ल्याउने गर्छन् । तस्करको यही व्यापारिक संजालका कारण भन्सारमा उनीहरु अनाहकमा दु:ख पाउँदै आएका छन् । सरकारको नियमभित्र रहेर आफ्नो निजी प्रयोगका लागि गहना ल्याउँदा पनि भन्सारले विभिन्न तरिकाले दु:ख दिँदै आएको वैदेशिक कामदारहरु बताउँछन् ।
‘तस्करी’ को सुन किन्न बाध्य व्यापारी
सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले नेपालमा तस्करले कामदारहरुलाई भरिया बनाएर सुन भित्राउने गरेको आफूले पनि सुनेको बताए । ‘बेला बेलामा प्रहरीले पनि यस्ता तस्कर अनि भरियालाई पक्राउ गर्ने सूचना आइरहेकै छन्’, महासंघका महासचिव बज्राचार्यले भने, ‘भन्सार कार्यालयमा उठेको राजश्वले पनि यस्तै देखाउँछ ।’
बज्राचार्यले अहिलेको अवस्थामा सुनको व्यापार कम भएपनि सामान्य अवस्थामा भने दैनिक २० किलो सुन नेपाली बजारलाई चाहिन्छ । नेपाल राष्ट्र बैंकले नेपाली बजारको लागि ‘क’ वर्गको बैंकहरुमार्फत दैनिक १० किलो सुन मात्रै बिक्रीवितरण गर्ने अधिकार दिएको छ । अझै चाडवाडको बेलामा नेपाली बजारमा दैनिक ४० किलोसम्म सुनको माग हुन्छ । जुन माग बैंकले उपलब्ध गराउँदै आएको सुनले पूरा गर्न सक्दैन ।
र, तस्करले बजारको माग अत्यधिक भएको यस्तै अवस्थामा झन् बढि चलखेल गर्छन् । माग पूरा गर्न व्यापारीले बजार माग बढि भएको अवस्थामा चल्तीको मूल्यभन्दा पनि बढि मूल्यमा सुन खरिद गर्न बाध्य हुन्छन् । जसले गर्दा नेपालमा गहनाको मूल्य चर्को पर्न जान्छ ।
नेपालमा १२ हजार भन्दा बढि सुन व्ययवसायी छन् । ती मध्ये ८ हजार सदस्य त सुनचाँदी व्यवसायी महासंघमा आबद्ध नै छन् । ‘हामीले हाम्रा व्यवसायीहरुलाई बिना बिलको सुन नकिन्न र नबेच्नका लागि आग्रह गर्दै आएका छौँ’, बज्राचार्यले भने,‘तस्करहरुको संजालबाट आउने सुनलाई बजारमा रोक्न हामी सचेत छौँ ।’
तर महासंघले जति भनेपनि व्यवसायीहरुले ‘तस्करी’बाट आउने सुन सहज रुपमा किनबेच गर्दै आएका छन् । सुन बिक्रीवितरणमा राष्ट्र बैंकले तोकेको सिमाले गर्दा नेपाली बजारमा तस्करलाई सुन कारोबार गर्न सहज भएको छ ।