News Griha :: न्यूजगृह
नमस्ते र एनसेलमा ब्यालेन्स ट्रान्सफर गर्न, थाहा पाउन तथा रिचार्ज गर्न एउटै नम्बर 

काठमाडौं— नेपाल टेलिकम र एनसेलले समान किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका छन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका यूएसएसडी ल्याएका हुन् ।

नियामकले ग्राहकको सहजताका लागि आधारभूत रूपमा प्रयोग हुने सेवाहरूका लागि सबै सेवा प्रदायकले एकै किसिमका यूएसएसडी नम्बर प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुरूप ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्स इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ । आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् । 

कसरी प्रयोग गर्ने एकै प्रकारका नयाँ यूएसएसडी कोड? 

ब्यालेन्स रिचार्ज गर्न १२२

यदि तपाईं रिचार्ज कार्ड खरिद गरी पिन नम्बर राखेर मोबाइल रिचार्ज गर्नुहुन्छ भने एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा यो यूएसएसडी कोड प्रयोग गर्न सक्नुहुन्छ । जसका लागि *१२२* रिचार्जको पिन नम्बर # डायल गर्नुपर्ने हुन्छ । यसअघिदेखि ब्यालेन्स रिचार्ज गर्न टेलिकममा *४१२* रिचार्ज पिन नम्बर # र एनसेलमा  *१०२* रिचार्ज पिन नम्बर # डायल गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । यद्यपि यो विधिबाट अझै केही समयसम्म ब्यालेन्स रिचार्ज गर्न सकिनेछ ।   

 ब्यालेन्स ट्रान्सफर गर्न १३३

ब्यालेन्स ट्रान्सफरका लागि समेत दुवै कम्पनीको नेटवर्कमा एउटै १३३ नम्बरको यूएसएसडी प्रयोग गर्न सकिन्छ । यद्यपि ब्यालेन्स ट्रान्सफर गर्ने दुवै कम्पनीको तरिका भने केही फरक छ । नेपाल टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न *१३३* सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर* ट्रान्सफर गर्ने रकम# डायल गर्नुपर्ने हुन्छ । 

तर एनसेलमा भने यो यूएसएसडी को प्रयोग गरी ब्यालेन्स ट्रान्सफर गर्न *१३३* ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर* ट्रान्सफर गर्न चाहेको रकम# डायल गर्नुपर्ने हुन्छ ।

यसअघिको व्यवस्था अनुसार नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर गर्न * ४२२*सेक्युरिटीकोड*ब्यालेन्स ट्रान्सफरको गन्तव्य मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको ब्यालेन्स# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईं टेलिकमको आफ्नो सेक्युरिटी कोड थाहा छैन भने मेसेज बक्समा SCODE टाइप गरी १४१५ मा पठाउन सक्नुहुन्छ ।  

एनसेलमा भने ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको गन्तव्य मोबाइल नम्बर# डायल गर्नुपर्ने हुन्छ । यसका लागि सेक्युरिटी कोड आवश्यक पर्दैन । 

ब्यालेन्स थाहा पाउन १४४

यसका लागि एनसेल र नेपाल टेलिकम दुवैका लागि *१४४# डायल गरे पुग्छ । यसअघिको व्यवस्था अनुसार एनसेलमा ब्यालेन्स चेक गर्न *१०१# अथवा *९०१# र टेलिकममा *४००# डायल गर्नुपर्ने हुन्थ्यो । 

कार्यविधि अनुसार यसअघि सेवा प्रदायकले आआफ्नै किसिमले प्रयोगमा ल्याएका यूएसएसडी कोड एक वर्षपछि बन्द गरी अब यी एकै किसिमका यूएसएसडी कोड मात्रै प्रयोगमा ल्याउनु पर्नेछ ।

-टेकपानाको सहयोगमा

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:४७
Weather Update