News Griha :: न्यूजगृह
मन्सुरीलाई बैठक चलाउने जिम्मेवारी दिएर काठमाडौं आइन कोशीकी उपसभामुख 

काठमाडौं—  कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेश सभा बैठक चलाउने जिम्मेवारी नेपाली कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएकी छन् । 

सोमबार बिहान ८ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी उपसभामुख दनुवारले उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार मन्सुरीलाई पत्राचार गरेर  बैठकको चलाउने जिम्मेवारी तोकेकी हुन् । पत्रमा उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाडौं जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने बताएकी छन् । कोशीमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो ।

तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बू र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।  उपसभामुख दनुवार सोमबार बिहान काठमाडौं आइपुगेकी छन्  । कोशीमा मुख्यमन्त्रीले विश्वास प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहन्छ । सत्ता गठबन्धनसँग अहिले ४७ सांसद नै छन् । एमाले गठबन्धनको सरकार ढालेर ठूलो दलको हैसियतमा कोशीमा आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ।

मन्सुरीलाई प्रदेश सभाको अध्यक्ष दिएर उपसभामुख काठमाडौं प्रस्थान गरेपछि कोशीमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ ।  

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:०४
Weather Update