
काठमाडौं— कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं आएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ ।
थापाले सोमबार विश्वासको मत लिने कार्यसूची छ । तर पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौं आएकी हुन् । नेकपा एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान यती एअरलाइन्सको पहिलो उडानबाट काठमाडौं आएकी हुन् । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा सामान्य बहुमत मात्र समर्थन छ ।
प्रदेश सभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका ज्येष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिका ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन् । त्यसपछि अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् । उनीहरु मध्य एकले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन ।
त्यसलाई मध्यनजर गर्दै एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित हुन निर्देशन दिएका छन् । दलको निर्देशन एमाले र राप्रपाका केही सांसदले बिदा लिएका छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।













