News Griha :: न्यूजगृह
गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहज

बाँके— गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासीखुशी छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्र कै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अजीज बेहनाले बताए । वडाको स्वास्थ्य केन्द्रमा औषधि नपाइने र नेपालगञ्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ । 

साविक हिरमिनिया गाविसमा रहेको जङ्गलीपूर्वालगायतका केही गाउँलाई नेपालगञ्ज उपमहानगरपालिकामा गाभेर २३ नं वडा बनाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको फोहर विसर्जन केन्द्र सञ्चालन गर्न यो गाउँलाई उपमहानगरमा गाभिएको हो । यो वडासँग जोडिएका अन्य गाउँ भने डुडुवा गाउँपालिकाको वडा नं ६ मा पर्दछन् ।

उपमहानगरपालिकको फोहर विसर्जन केन्द्रसँग जोडिएको गाउँमा छाला रोगको सङ्क्रमण देखिएपछि स्वास्थ्य शिविर आयोजना गरिएको  महासङ्घ बाँकेका प्रमुख कुस्माखर बस्यालले जानकारी दिए । 

उनका अनुसार डम्पिङ साइटसँग जोडिएको नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा आएकालाई स्वास्थ्य परीक्षणसहित औषधिसमेत उपलब्ध गराइएको थियो ।

घरघरमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि सहजता भएको स्थानीयले बताए । भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएको थियो । 

नेपालगञ्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ८० जनाको स्वास्थ्य परीक्षण भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १२:०८
Weather Update