
काठमाडौं— भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाममा हनुमान कथा प्रवचन गर्न शुक्रबार बिहान काठमाडौं आए ।
चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरबाबा)लेशास्वतधाममा आइतबारदेखि हनुमान कथा प्रवचन सुरु गरेका छन् जुन सोमबारसम्म चल्ने छ । शास्वतधाममा दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म हुने हनुमान कथा प्रवचनमा दैनिक करिब ११ हजारभन्दा धेरैले सुन्ने व्यवस्था मिलाइएको छ । कथा सुन्नका लागि शास्वतधाम प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।
चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणामा नेपाल आएका बागेश्वर बाबालाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुवैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार बिहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी हेडक्वार्टरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले पनि कार्यव्यस्तताको कारण भेट हुन नसकेको जानकारी दिए ।
शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि भेट गराउने प्रयास भएको थियो । तर राष्ट्रपति पौडेललाई सन्चो नभएकाले कुनै पनि भेटघाटका कार्यक्रम नराखेको शीतल निवास स्रोतले बताएको छ । २७ वर्षका बागेश्वर बाबा भारतमा विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ ।