
मोरङ— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेंगु संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् ।
धरान उपमहानगरका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको भेटमा शनिबार उनले डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।
मुख्यमन्त्री थापाले ध्यानाकर्षण पत्र बुझ्दै डेंगु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे ।
विराटनगरस्थित एक हजार शय्याको संक्रमण रोग तथा सघन उपचार केन्द्रमा डेंगुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनको भनाइ थियो ।
मुख्यमन्त्री थापाले डेंगु नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए ।