
काठमाडौं— नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ ।
‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्वर्गीय गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो ।
कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौंदेखि काशीसम्मको यात्रा टोलीलाई कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गरे ।
गिरिको स्मृति दिवसका अवसरमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गरेको योगदानका बारेमा उनलाई स्मरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य निधिले भने, ‘स्व गिरि एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो, जसको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुन्छ ।’
स्व गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरूको राजनीतिक गुरुसमेत भएको नेता निधिले व्याख्या गरे ।
यसअघि गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति उनको परिवारजनले आपत्ति जनाएको थियो ।
गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरूको अनुमतिबिना अस्तु विसर्जन कार्यक्रम राखेको गुनासो गरेका थिए ।














