
काठमाडौं— नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति उनको परिवारजनले आपत्ति जनाएको छ ।
गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरूको अनुमतिबिना अस्तु विसर्जन कार्यक्रम राखेको गुनासो गरेका हुन् ।
परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले बिना स्वीकृति गर्ने कार्य स्वीकार्य नभएको भन्दै उनीहरूले विज्ञप्तिमा कार्यक्रमप्रति गम्भीर असहमति जनाएको छन् । उनीहरूले संस्थासँग भएको गिरिका अस्तु असली नभएको आशंका गरेका छन् ।
‘लिखित र मौखिक रुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दा समितिका कञ्चन झा, रामपल्टन साहलगायतले नसुनेको र अस्तुको राजनीति गरिरहेको, त्यो अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? त्यो अस्तु नै स्व. प्रदीप गिरिको हो कि होइन भन्नेमा ठूलो प्रश्न चिन्ह उठेको छ, किनभने उहाँको अस्तु हामीसँग नै सुरक्षित छ,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले गिरिको आत्माको चीर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न आग्रह गरे । गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो ।













