News Griha :: न्यूजगृह
एक महिनामै १०८ जनामा डेंगु संक्रमण

चितवन– जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार साउन १ देखि भदौ १ गते दिउँसो सम्ममा १०८ जनामा डेंगुको संक्रमण देखिएको हो ।

एक हजार १६४ जनाको परीक्षण गरिएकामा सो संख्यामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो संख्यामा संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । संक्रमितहरूमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा डेंगुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार ३०६ संक्रमितमध्ये उनीहरूको मृत्यु भएको हो । 

कार्यालयका सूचना अधिकारी केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार ३२४ जनामा डेंगुको संक्रमण देखिएको थियो । 

चितवन बाहिरका ६९५ र ठेगाना नखुलेका ३२३ मा डेंगुको संक्रमण देखिएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । 

यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । 

यस्तै, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दाग देखा पर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्ने केसीले जानकारी दिए ।

यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै भएको उनले बताए । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनु पर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:३१
Weather Update