News Griha :: न्यूजगृह
गत वर्ष घट्यो व्यापार घाटा, यी सामाग्रीको आयातमा भारी कटौती

काठमाडौं— गत आर्थिक वर्ष २०७९-८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । 

अघिल्लो आवमा यो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवका तुलनामा २१ दशमलव चार प्रतिशतले कम हो । 

अघिल्लो आवमा निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो । तथ्यांकअनुसार गत आवमा कूल वस्तु आयात १६ दशमलव एक प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीनतर्फ ११८ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गहनालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव चार प्रतिशत, १५ दशमलव नौ प्रतिशत र २० दशमलव सात प्रतिशतले घटेको छ । 

स्पोञ्ज आइरन, रासायनिक मल, स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको र सवारी साधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेका राष्ट्र बैंकले जनाएको छ ।

गत आवको वैदेशिक व्यापारमा निर्यात-आयातको अनुपात नौ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:४८
Weather Update